Logo

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या गर्ने योजना बनाउने महिला पक्राउ



युक्रेन, २३ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्‌यन्त्रमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरिएको युक्रेनको सुरक्षा निकायले जनाएको छ ।

ती महिलाले गत जुन महिनामा बाढी प्रभावित क्षेत्र माइकोलाइभको भ्रमण गर्नुअघि जेलेन्स्कीको यात्रा कार्यक्रम पत्ता लगाउने प्रयास गरेको उक्त सेवाले जनाएको छ ।

युक्रेनले रुसलाई समर्थन गर्ने आफ्ना नागरिकलाई मस्कोको सेनालाई सहयोग गर्न सूचना प्रवाह गरेको आरोप लगाउँदै आएको छ । जेलेन्स्कीले एसबीयूका प्रमुखले आफूलाई “धोकेबाज विरुद्धको लडाइँ”बारे खबर गरेको भन्दै ती महिलाको गिरफ्तारीबारे आफूलाई जानकारी दिइएको पुष्टि गरेका छन् । रुसले यस गिरफ्तारीबारे कुनै टिप्पणी गरेको छैन ।

युक्रेनको सुरक्षा सेवासम्बन्धी निकाय एसबीयूले एक विज्ञप्ति जारी गर्दै ती महिलालाई रुसीहरूलाई गुप्तचरी सूचना दिन खोज्दा “रङ्गेहात” पक्राउ गरिएको जनाएको छ ।

ती महिलाले दक्षिणी माइकोलाइभ क्षेत्रमा जेलेन्स्कीको भ्रमणअघि नै त्यहाँको यात्रा योजना पत्ता लगाउन गुप्तचर सूचना सङ्कलन गर्ने प्रयास गरेको उनीहरूको आरोप छ । उनीहरूले एसबीयूको भान्सामा उभिएकी सन्दिग्धको मुखौटोसहितको तस्बिर सार्वजनिक गरेका छन्। तस्बिरमा ती महिला र सँगै उभिएका अधिकारीहरूलाई प्रस्ट देखिँदैन।

जेलेन्स्कीले कखोभ्का बाँध भत्किँदा भएको क्षति निरीक्षणका लागि गत जुन महिनामा माइकोलाइभको भ्रमण गरेका थिए । त्यसपछि जुलाईमा रुसको भारी गोलाबारीपछि उनी त्यहाँ पुगेका थिए । सुरक्षा सेवा निकायले भ्रमणअघि नै आफू उक्त षडयन्त्रबारे जानकार रहेको र सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ ।

उक्त निकायले रुसले “माइकोलाइभ क्षेत्रमा ठूलो हवाई आक्रमणको योजना बनाइरहेको” र सन्दिग्ध महिलाले उनीहरूलाई युद्ध गतिविधिबारे विद्युतीय प्रणाली तथा गोला बारुदसहितको गोदामका बारेमा जानकारी दिन खोजेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्