युक्रेन, २८ चैत । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ ।
विश्व बैंकको प्रक्षेपणले युद्धका कारण युक्रेनको अर्थ व्यवस्था कोरोना महामारी कारण पूर्वी युरोप र मध्य एसियामा परेको असर भन्दा बढी हुने देखाएको छ ।
युक्रेनमा शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि विश्व बैंकले जनाएको छ ।
युक्रेनका धेरैजसो काम गर्ने समूहका मानिस या त लड्न या त भाग्न बाध्य भएका छन्। व्यापार बन्द छन् । सडक, कारखाना अनि अन्य पूर्वाधार ध्वस्त भएका छन् । वर्षौँको प्रगति शून्यमा झरेको छ ।
युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो जुन अहिले ठप्प भएको बीबीसीले उल्लेख गरेको छ । यसले गर्दा विश्वभरि नै खाद्यान्नको मूल्य बढ्ने अनुमान छ ।