Logo

युक्रेनी ड्रोनले ध्वस्त पार्‍यो रुसी सुपरसोनिक बमवर्षक विमान



युक्रेन, ५ भाद्र । युक्रेनी ड्रोन आक्रमणमा रुसको लामो दूरीको सुपरसोनिक बमवर्षक विमान ध्वस्त भएको छ ।

सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी-२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू-२२ विमानमा आगो लागेको देखिएको छ ।

ध्वस्त पारिएको रुसी टीयू-२२ बमवर्षक विमान ध्वनिको गतिभन्दा दुई गुना बढी गतिमा उडान गर्न सक्थ्यो । रुसले यो विमान युक्रेनका सहरमा आक्रमण गर्न व्यापक रूपमा प्रयोग गर्दै आएको आरोप छ । यो घटनामा कुनै हताहती नभएको तर केही समय मस्कोका तीन ठूला विमानस्थलमा उडानहरू स्थगित गरिएका थिए ।

यद्यपि अहिले शेरेमेत्येभो र डोमोडेडोभोका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आएका छन् । सोल्ट्सी-२ युक्रेनको सीमाबाट झण्डै ६ सय ५० किलोमिटर टाढा छ । रुसी सञ्चारमाध्यमले आक्रमण भएको जानकारी दिए पनि कुनै क्षति नभएको जनाएका बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्