काठमाडौँ, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय समानुपातिक गणतान्त्रिक युगअनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता भएको बताएका छन् ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सव कार्यक्रमको पूर्वसन्ध्यामा आयोजित कविता महोत्सवमा उनले यस्तो बताएका हुन् ।
उनले ज्ञान तथा साहित्य-कलालाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्र अपेक्षित सफलता हासिल गर्न सकिने बताए । उनले अबको अनुसन्धान तथा सिर्जना परम्परा धान्नमा सीमित हुन नहुनेमा जोड दिए ।
सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण अभियान अघि आउन जरुरी रहेको उनले बताए ।
“नेपालका कतिपय उन्नत सांस्कृतिक परम्परा यहाँको माटोमा सिर्जित र विकसित ज्ञान तथा साहित्य कलालाई साहित्य चिन्तनलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्रै हामीले अपेक्षित सफलता हासिल गर्न सक्नेछौँ । अबको सिर्जना, अबको अनुसन्धान केवल परम्परा धान्नेमा मात्रै सीमित हुनु हुँदैन । यथास्थितिवादी सौन्दर्य चेतनाले मात्रै अब पुग्ने स्थिति पनि छैन,” उनले भने, “आज नेपाली समाजको सामाजिक संरचना र राजनीतिक व्यवस्थामा परिवर्तन आएको छ । सामाजिक संरचना, राजनीतिक व्यवस्थामा भएको परिवर्तनलाई संस्थागत गर्न सोहीअनुसारको सांस्कृतिक रूपान्तरण अभियान अघि आउन जरुरी छ । परिणामतः नेपाली समाजका सूक्ष्म तहमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र सुनामीजस्तै बनेर आइरहेको भूमण्डलीकृत उत्तर आधुनिक संस्कृतिको प्रतिरोध गर्दै आजको संघीय समानुपातिक गणतान्त्रिक युगअनुसारको संस्कृतिको निर्माण आजको आवश्यकता हो ।”







