काठमाडौँ, २१ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले युग सुहाउँदो प्रशासनिक मोडल निर्माणका लागि विश्व समुदायसँग सहकार्य गर्न नेपाल तयार रहेको बताएका छन् ।
कोरियाली ग्रामीण विकास केन्द्रले आज दक्षिण कोरियाको बुसानमा आयोजना गरेको ग्रामीण विकाससम्बन्धी विश्वका मन्त्रिस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोदीले युगअनुसार चल्ने प्रणाली नै आजको आवश्यकता भएको बताएका हुन् ।
सिङ्गो विश्व नै अहिले रुपान्तरणको चरणमा रहेकाले मन्त्री मोदीले युग सुहाउँदो प्रशासनिक मोडलको अनिवार्यतामा जोड दिए । आफूलाई गौतमबुद्ध र सगरमाथाको देशको मन्त्रीका रुपमा परिचित गराएका हुन् । “विश्व नै अहिले रुपान्तरणको चरणमा छ, आर्थिक भौतिक र मानव पुँजीबीचमा खाडल छ, सबैतिरका प्रशासन र सम्बन्ध थप जटिल हुँदै गएको अवस्था छ, यस्तो युग सुहाउँदो प्रशासनिक मोडलमा निर्माण अनिवार्य बनेको छ, यसका लागि सहकार्य गर्न नेपाल सरकार तत्पर छ”, उनले भने ।
मन्त्री मोदीले सङ्घीयताको सुदृढीकरण र सबलीकरणका लागि आफूहरु विश्व समुदायसँग हातेमालो गर्न तयार रहेको समेत बताए । “नेपालमा अहिले सङ्घीयता कार्यान्वयनको चरणमा छ, तपाईंहरुको अनुभव हाम्रा लागि पाठ हुनसक्छ, हामी सङ्घीयताको सबलीकरण र सुदृढीकरणका लागि हातेमालो गर्न तयार छौँ”, मन्त्री मोदीले भने ।







