Logo

युरोपको झन्डै आधा क्षेत्र खडेरीको जोखिममा



बेलायत, ३ साउन । दक्षिण पश्चिम युरोपमा उच्च गर्मीको लहरसँगै युरोपेली सङ्घ (ईयू) को झन्डै आधा भू-भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् ।

युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा ईयूको ४६ प्रतिशत भू-भागमा खडेरीको उच्च जोखिम रहेको उल्लेख छ । ईयूको ११ प्रतिशत भू-भागमा खडेरीका कारण विशेष सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ । त्यहाँ खेतीयोग्य जमिनमा पानीको अभावले लगाइएको बाली प्रभावित बनिसकेको छ ।

खडेरीको सबैभन्दा बढी प्रभाव इटली र त्यसको पनि सबैभन्दा बढी प्रभावित उत्तरमा रहेको पो रिभर बेसिन रहेको उल्लेख छ । स्पेनमा अहिले १० वर्षको औसतभन्दा पानीको जलाशयको मात्रा कम भएको र जलाशयको मात्रा अन्य वर्षको यो समयको तुलनामा ३१ प्रतिशतले घटेको रिपोर्टले जनाएको छ।

त्यस्तै, पोर्चुगलमा जलविद्युत् ऊर्जा उत्पादन गर्ने पानी गएको ७ वर्षको औसतभन्दा आधा कम छ । पानीको अभाव र उच्च तापले गर्दा फ्रान्स, रोमानिया, स्पेन, पोर्चुगल र इटलीमा बालीको उत्पादन कम हुने विज्ञले चेतावनी दिएका छन् ।

बेलायतमा तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री सेल्सियस मापन गरिएको छ । मौसम कार्यालयका अनुसार राजधानी लन्डनको तापक्रम अहिलेसम्मकै उच्च ४० डिग्री पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्