Logo

युरोप भ्रमणमा जाँदै राष्ट्रपति पौडेल



काठमाडौँ, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २२ देखि युरोप भ्रमणमा जाने भएका छन् ।

फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने ‘पेरिस पिस फोरम’मा सहभागी भएर राष्ट्रपति सङ्घीय गणतन्त्र जर्मनी र इटलीको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको बैठकले राष्ट्रपतिको युरोपको भ्रमणको कार्यक्रम स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल आगामी मङ्सिर १ गते स्वदेश फर्किने छन् ।

मन्त्रिपरिषद्ले उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खडका नेतृत्वको प्रतिनिधिमण्डललाई संयुक्त अरव इमिरेटस् (यूएइ)मा आयोजना हुने ‘दुबई एयर शो, २०२३ को १८औँ संस्करण’मा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई चीनको सङ्घाइमा हुने छैटौँ चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन स्वीकृति दिएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिमण्डल ‘बेल्ट एण्ड रोड इनिसिएटिभ्स’मा भाग लिन यही कात्तिक २० देखि २१ गतेसम्म चीनको छाइछिङ भ्रमणको स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी मङ्सिर २५ देखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको एटलाण्टामा आयोजना हुने भ्रष्टाचार निवारणसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्