Logo

युरो कप: पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा



 

काठमाडौँ, ९ असार । टर्कीमाथि सहज जित निकालेको पोर्चुगल युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ।

शनिबार राति भएको खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा पुगेको हो।

पोर्चुगलको जितमा बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डेजले समान १ गोल गरे। एक गोल भने उपहार स्वरुप पायो।

 

खेलको २१औं मिनेटमा बर्नान्डो सिल्भाको गोलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो। खेलको २८औं मिनेटमा भने पोर्चुगलले एक गोल उपहार स्वरुप पायो। गोलरक्षक र डिफेन्डरबीच तालमेल नमिल्दा डिफेन्डरले ब्याकपास दिएको बलले सिधै पोस्टको जाली चुम्यो।

पहिलो हाफमा २–० को अग्रता बनाएको पोर्चुगलले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ५६ औँ मिनेटमा फर्नान्डेजको गोलमा पोर्चुगलले ३–० को अग्रता बनायो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा पोर्चुगल अन्तिम १६ मा पुगेको हो।

जितसँगै समूह एफमा रहेको पोर्चुगलले २ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ।

हारका बावजुद पनि टर्कीको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ। टर्कीको दुई खेलबाट ३ अंक छ। यो समूहको जर्जिया र चेक रिपब्लिकको समान एक अंक छ।

गएराति भएकै अर्को खेलमा जर्जिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी गर्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्