झापा, ४ पुष । बिर्तामोडस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै नेतृत्व विकास तथा युवाको भविष्य निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संघीय उपसभामुख माननीय इन्दिरा राना मगर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा बोल्दै उपसभामुख राना मगरले युवा नै राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै राम्रो शिक्षा, प्राविधिक सीप र नैतिक नेतृत्व विकासमार्फत युवालाई जिम्मेवार नागरिक बनाइनुपर्नेमा जोड दिनुभयो। उहाँले अभिभावकप्रति उत्तरदायी बन्न सक्ने र देशको विकासमा योगदान पुर्याउने जनशक्ति उत्पादन गर्न शिक्षाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
आफ्नो व्यक्तिगत जीवनको अनुभव साझा गर्दै उहाँले सामान्य परिवारमा जन्मिएर ढिलो गरी कक्षा ५ बाट अध्ययन सुरु गरे पनि निरन्तर मेहनत र प्रेरणाले जीवनलाई सही दिशामा अगाडि बढाउन सफल भएको बताउनुभयो। उहाँले कैदीबन्दी तथा उनीहरूका बालबालिकाको आवास, स्वास्थ्य र शिक्षाका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उल्लेख गर्दै हजारौँ बालबालिकालाई शिक्षाबाट वञ्चित हुनबाट जोगाउन पाएकोमा सन्तोष व्यक्त गर्नुभयो।
उपसभामुख राना मगरले शिक्षित र सक्षम युवाको सही सदुपयोग भए देश विकास कठिन नहुने स्पष्ट पार्दै आफूले संरक्षण र शिक्षा दिएको धेरै युवाहरू आज विभिन्न उच्च पदमा रही राष्ट्रसेवामा सक्रिय रहेको जानकारी दिनुभयो। असल अभिभावकत्व र सही मार्गदर्शन पाए युवाहरू गलत बाटोमा नजाने उहाँको भनाइ थियो।
कार्यक्रममा कक्षा १२ का विद्यार्थी निर्जल आचार्य र दिपेश निरौलाले युवाको भूमिका र चुनौतीबारे आफ्ना धारणा राखेका थिए।
कानुन विद्यार्थी चेतन गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले दिनुभएको थियो। कार्यक्रममा शिक्षक प्रतिनिधि युवराज कटेल, विद्यार्थी प्रतिनिधि दिक्षित पौडेल, स्वाती गौतमलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक गीता भट्टराईले गर्नुभएको थियो।







