Logo

युवालाई नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील: मन्त्री लिम्बू



काठमाडौँ, १९ फागुन । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युवालाई रोजगारी सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइएको बताएका छन् ।

राष्ट्रिय युवा परिषद्को नवौँ स्थापना दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नवीन सोच र उद्यमशील युवालाई राज्यको समग्र क्षेत्रमा नेतृत्वदायी भूमिका प्रदान गर्न सरकार क्रियाशील रहेको बताएका हुन् ।

“मुलुकको कूल जनसङ्ख्याको ४२.५६ प्रतिशत हिस्सा युवाले ओगटेका छन् । युवालाई रोगजार सिर्जना गरी उद्यमशीलता, क्षमता र नेतृत्व विकासमा सरकारले जोड दिइरहेको छ”, मन्त्री लिम्बूले भने । युवाको सक्रिय सहभागितामा मुलुकको विकास र भविष्य निर्भर हुने भएकाले युवा सशक्तीकरणका लागि राष्ट्रिय युवा नीति अद्यावधिक गर्दै क्षमता विकास गरिने उनको भनाइ छ ।

मन्त्री लिम्बूले नवीन सोच, सुसंस्कृत, स्वरोजगार र आत्मनिर्भर युवा राष्ट्रनिर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै सरकारले चालू आर्थिक वर्षलाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षका रुपमा घोषणा गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्