Logo

‘युवाले सपना पूरा गर्न विदेश जानुपर्दैन, नेपालमै अवसर छ’



काठमाडौँ, ७ पुस । अर्थमन्त्री डा.प्रकाशशरण महतले युवाले सपना पूरा गर्न विदेश जानु नपर्ने बताएका छन् ।

शनिवार नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्चले आयोजना गरेको ‘स्टार्टअप फेस्ट’ २०२३ कार्यक्रममा अर्थमन्त्री महतले युवाले हरेक सपना पूरा गर्ने अवसर नेपालमै रहेको भन्दै सपना पूरा गर्न विदेश नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताएका हुन् । उनले युवालाई देशभित्रै अवसर नै अवसर रहेको उल्लेख गरेका थिए ।

अर्थमन्त्रीले ठूला विकसित देशमा नयाँ ‘इनोभेसन’ भएमात्रै नेपाली युवाले अवसर पाउने बताए । उनले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताएका छन् ।

उनले ‘स्टार्टअप’ उद्योगका लागि सरकारले बजेटमार्फत सहुलियतसमेत दिएको बताए । नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवा त्यस क्षेत्रतर्फ लाग्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, ‘अहिले युवा विदेश जाने प्रणाली विकास भएको छ । त्यसलाई रोक्न पनि आईटी क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक छ । अहिले ४० प्रतिशतभन्दा बढी युवा आईटी क्षेत्रमा जोडिनुभएको छ । विदेशमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति आउँछ भने त्यस्तो अवस्थामा जान आवश्यक हुन्छ । तर कुनै छात्रवृत्ति छैन र आकर्षक विज्ञापन गरेको आधारमा युवा विदेश गइरहेका छन् । त्यसरी गएकाहरूको बेहाल छ । विदेशमा सबैका लागि सहज छैन । अहिले १२ कक्षा पढेपछि बाहिर जाने क्रम चलेको छ । युवाले नै यसलाई रोक्न अग्रसर हुनुपर्छ । नेपालमा नै धेरै अवसर छन् । नेपालमा अझै धेरै गर्न बाँकी भएको हुनाले यही नै अवसर छ । नेपालमा केही काम छैन, विदेशमा मात्रै छ भन्ने नकारात्मक प्रचार भइरहेको छ ।’

अर्थमन्त्री महतले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मकरूपमा सुधार हुँदै गएको दाबी गरे । उनले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब जम्मा भएको पुँजीलाई चलायमान बनाउन आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्