काठमाडौँ, ९ साउन । सभामुख अग्निप्रसाद सापकोटाले युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले बुलन्द गरिरहेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । उनले अहिले राष्ट्रमा काठमाडौँ र धरान लगायतका स्थानमा युवाहरुको आवाजरुपी संकेतको रुप देखापरेको बताए ।
सभामुख सापकोटाले युवाहरुको आवाज बुलन्द गर्ने छिटपुट संकेत देखा परे पनि साइरनरुपी यी संकेतको भाषा बुझ्न आवश्यक रहेको बताए ।
उनले पर्याप्त फलफूल, तरकारी, खाद्यान्न उत्पादन गर्ने नेपालजस्तो उर्वरभूमिमा २ खर्ब ५० करोडको खाद्यवस्तु आयात हुनु दुःखद् भएको बताए । सभामुख सापकोटाले खरानीसमेत नेपालमा आयात हुन्छ भन्ने सुन्दा अचम्मित भएको बताए ।
सभामुख सापकोटाले भने ‘हामी कति विडम्वनापूर्ण स्थितिमा बाचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि असाध्यै ठूलो मात्रामा उत्पादन गर्न सक्छौँ तर गुन्द्रुकसमेत अन्तबाट आयात गर्छौं । जनै लाउँछौँ तर नलगाउने चीनबाट पठाइदिन्छन्, राखी त्यस्तै । खरानीसमेत नेपालमा आयात हुन्छ । यो सुनेर आफैं अचम्मित छु ।
२ खर्ब ५० करोडको हामी खाद्यवस्तुहरु आयात गर्छौं । योभन्दा लज्जा र चिन्ताजनक स्थिति के हुन्छ । युवाहरुको आवाजलाई अहिले सिंगो राष्ट्रले धेरै राम्रोसँग बुलन्द गरिरहेको छ । अहिले त छिटपुट संकेतहरु मात्रै देखा परेका छन्, काठमाडौँ, धरान लगायतका ठाउँहरुमा । यो संकेत मात्रै हो, साइरन हो यो। साइरनको भाषा हामीले बुझ्नुपर्छ ।’







