Logo

युवाहरू झडपमा उत्रिएपछि लिङदेनको कडा चेतावनी- गुण्डागर्दी र बाहुबली चल्दैन



काठमाडौं, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप निम्तिएपछि अध्यक्ष राजेन्द्र लिङदेन आक्रोशित बन्नुभएको छ । उहाले असन्तुष्ट पक्षका युवाहरूलाई बाहुबली प्रदर्शन नगर्न कडा चेतावनी दिनुभयो ।

चाबहिलको एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरुबीच झडप भएको हो । अध्यक्ष राजेन्द्र लिङदेन कार्यक्रम स्थलमा आइसकेपछि हात हालाहाल भएको थियो । त्यसपछि लिङदेनले मञ्चबाटै सम्झाउन खोज्नुभयो ।

उहाले भन्नुभयो, ‘कृपया सबै अनुशासित भएर बस्नुस् । के विषयमा चित्त बुझेको छैन, त्यो विषयमा छलफल अवश्य हुन्छ । पार्टीमा अधिवेशन प्रारम्भ हुँदा नै डिस्टर्व गर्ने काम ठिक होइन । यदि अधिवेशन हुन नदिने र बाहुबली प्रदर्शन गर्ने प्रयास कसैले गर्छ भने टुलुटुलु हेरेर बसिँदैन ।’
लिङदेनले पार्टीको भविष्यसँग युवाहरूको भविष्य जोडिएको भन्दै गम्भीर बन्न निर्देशित गर्नुभयो ।

उहाले भन्नुभयो, ‘तपाईँ युवाहरू नै पार्टीको भविष्य हो । पार्टीको भविष्यसँग तपाईँ हाम्रो भविष्य गाँसिएको छ । तपाईँहरू कसैको केटा होइन । हतियार होइन । मेरो आग्रह छ कसैलाई प्रक्रियामा चित्त बुझेको छ भने बन्द सत्रमा छलफल हुन्छ । प्रक्रियामा छलफल हुन्छ । चित्त नबुझेको कुराहरू छलफलबाट टुंगो लाग्छ । सहमति हुन नसके मतदान हुन्छ । तर गुण्डागर्दी र बाहुबली चल्दैन । त्यो काममा अग्रसर नहुन म आग्रह गर्छु ।’

 

प्रतिक्रिया दिनुहोस्