विर्तामोड, २१ चैत । रोजगारी खोज्दै नेपाली कामदार विदेशिने क्रम तीव्र छ तर, नेपालमा भने रोजगारीका लागि भारतीय कामदारहरु आउने गरेका छन् । भारतीय कामदारले नेपालमा दैनिक एक हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन्।
अहिले झापामा घर बनाउने काम त भारतीय कामदारले गर्छन् नै, त्यसबाहेक सडक, ढल बनाउनेजस्ता बालुवा–सिमेन्टका काममा पनि भारतीय कामदारकै भर पर्नुपर्ने अवस्था छ।
केही वर्षयता नेपालमै बसेर मजदुरी गर्दै आएका भारतीय नागरिक गोविन राजवंशी दैनिक एक हजारभन्दा माथि पारिश्रमिक पाउने गरेको बताए । आफ्नो देशमा दिनभर काम गर्दा पाँच सय भारु (आठ सय रुपैयाँ) मात्र कमाउने गरेको उनले बताए।
भारतीय रुपैयाँभन्दा नेपाली रुपैयाँ कमजोर त छ तर पनि आफूहरुलाई नेपालमा आएर काम गर्दा फाइदा हुने राजवंशीले बताए । कामअनुसार पारिश्रमिक हुने भएकाले अहिले आफूले औसत दैनिक एक हजारभन्दा बढी कमाउने गरेको उनले बताए।
त्यस्तै, टायल्सको काम गर्ने अर्का कामदार मोहम्मद तसिर रुद्दिनले नेपालमा काम गरेर दैनिक एक हजार पाँच सय रुपैयाँ कमाउने गरेको बताए । भारतमा उही काम गर्दा दैनिक पाँच सय भारु मात्र कमाउने हुनाले नेपालमा काम गर्न आउने गरेको उनको भनाइ छ।
नेपालका अधिकांश युवा रोजगारीका लागि विदेशिने क्रम बढ्दै छ । भारतीय मजदुरहरु भने नेपालमा आएर काम गर्दा लाभ देखिरहेका छन्।
नेपाली रुपैयाँ भन्दा भारतीय रुपैयाँ महङ्गो भए पनि नेपालमा राम्रो पारिश्रमिक पाउने र यता काम पनि पाइने हुनाले भारतीय कामदारको संख्या बढ्दै गएको हो।
पछिल्लो समय घर निर्माणदेखि विकास निर्माणका सम्पूर्ण काममा भारतीय मजदुर नै कार्यरत छन्।
नेपालीले गरेको कामभन्दा भारतीयको काम राम्रो हुने भएकोले भारतीय मजदुर रोज्ने गरेको बताउँछन्– ठेकेदार राजकिशोर गुप्ता । घर बनउँदा फर्मा लगाउने, ढलान गर्नेजस्ता काममा भारतीयको काम राम्रो हुने भएकाले उनीहरूलाई रोजेको गुप्ताले बताए।
गुप्ताले भने, ‘भारतीयलाई काम लगाएपछि उनीहरुलाई तोकिएको पारिश्रमिक मात्र दियो भने पनि राम्रोसँग काम गर्छन् तर त्यही कामका लागि नेपालीलाई लगाउँदा पारिश्रमिकसँगै मागेअनुसार रक्सी पनि खुवाउनुपर्छ । त्यसले गर्दा पनि भारतीयलाई काममा राख्न सजिलो छ।’
भारतीय कामदारको एकजना ‘हेड’ हुन्छ । उसले नै सबैलाई काम लगाउँछ । भनेकै दिनमा काम सकेर जान्छन् । गुप्ताले भने, ‘पैसा पाएको भोलिपल्टदेखि नेपाली कामदार रक्सी खाएर काममै आउँदैनन् । भारतीयमा यस्तो समस्या हुँदैन।’
अर्का ठेकदार मेजेबुल मियाले पनि नेपालीभन्दा भारतीय कामदार नै राख्दा आफूलाई सजिलो हुने बताए । उनले अनुभव सुनाए, ‘नेपाली १० बजेदेखि काममा आउँछन् । आएपछि पनि अल्छी गर्छन् । भारतीय बिहानदेखि काममा लाग्छन् । लगातार काम गर्छन्।’
नेपाली कामदार कामको समयमा झर्कने, लगनशील नहुने समस्या छ तर भारतीयमा त्यो समस्या नहुने उनको भनाइ छ।
भारतीय कामदारले नेपाल आएर मासिक ३० देखि ३५ हजारसम्म कमाउने गरेका छन् । तर नेपालीहरु नेपालमै रोजगार बन्न त्यति धेरै उत्सुक देखिँँदैनन्।
विदेश गरेर कमाएको पैसा ९रेमिटेन्स० ले देशको अर्थतन्त्रको मुख्य हिस्सा ओगटेको बताइरहँदा भारतीयहरुले नेपालबाट कति पैसा लैजान्छन् भन्ने तथ्यांक भने कतै उल्लेख भएको पाइँदैन।