Logo

युवा राष्ट्र निर्माणको प्रमुख स्रोत: प्रधानमन्त्री



काठमाडौँ, २७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति भएको बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले २४औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले भिडियोमार्फत सम्बोधन गर्दै युवा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति रहेको बताएका हुन् ।

साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा वर्ग प्रमुख धरोहरका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले युवालाई राष्ट्र निर्माणको प्रमुख स्रोतसमेत मान्न सकिने बताए । उनले गुणात्मक र सङ्ख्यात्मक दुवै दृष्टिले युवा राष्ट्रका मेरुदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरुको क्षमतालाई राष्ट्रिय विकासको मूल धारमा ल्याउन सरकारले राष्ट्रिय युवा नीति, २०७२ जारी गरी लागू गरिसकेको बताएका हुन् ।

पछिल्लो पटक युवामा राजनीतिप्रति चासो बढ्दै गएको उनको भनाइ थियो । “राजनीति देश र जनताको हितमा केन्द्रित गर्नुपर्ने हुन्छ”, उनले भने । राष्ट्रिय युवा परिषद्ले राजनीतिमा युवा आकर्षणका साथै उत्पादन, रोजगारी र श्रमशीलता तथा आत्मनिर्भरका क्षेत्रमा समेत महत्वपूर्ण पहल लिइ बढ्दो पलायन रोक्न ठोस पहल गर्ने प्रधानमन्त्री दाहालले बताए ।

परिवर्तनको संवाहक मानिने युवा भविष्यको मार्गचित्रसमेत भएको भन्दै उनले समुन्नत राष्ट्र निर्माणमा युवा समूहको अतुलनीय योगदान रहेको बताए । उनले यस वर्षको युवा दिवसले दिगो विकासप्रति सचेत रहन युवालाई थप जिम्मेवारी सुम्पेको बताएका हुन् ।

दिवसले युवामा रहेको क्षमता उजागरण गर्ने मौका प्रदान गर्दै दिगो विकासको लक्ष्य सार्थक बनाउन तथा अगाडि बढ्न उत्पे्ररित गर्ने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्