मेचीनगर, ४ असोज । मेचीनगर नगरपालिका वडा नं.५ नकलबन्दामा सोमबार नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
युवा सञ्जाल मेचीनगरको आयोजना, साइ सुमिरन मेडिकल हलको सह-आयोजना, रजक आँखा उपचार केन्द्रको प्राविधिक सहयोग, गंगा मेमोरियल इंलिश स्कुलको प्रायोजन तथा मेची आधारभूत विद्यालय नकलबन्दा समाज विकास समितिको सहयोगमा भएको शिविरमा ५०० जना भन्दा बढीको नि:शुल्क स्वास्थ्य जाँच गरिएको थियो ।
उक्त अवसरमा १३ जनाले रक्तदान समेत गरेका थिए ।
युवा सञ्जाल मेचीनगरका अध्यक्ष सौरभ बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि समाजसेवी तथा राजनीतिकर्मी गोपाल तामाङ, मेचीनगर-५ का वडाध्यक्ष कनक कार्की, युवा सञ्जाल मेचीनगरका सल्लाहकार तथा पूर्व वडा सदस्य नारायण खड्का, सशस्त्र प्रहरी बल नकलबन्दा प्रमुख, नकलबन्दा प्रहरी चौकीका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
युवा सञ्जालले मेचीनगरको १५ वटै वडामा नि:शुल्क स्वास्थ्य शिविर गर्ने लक्ष्य लिएको अध्यक्ष बस्नेतले बताए ।