बेलायत, २४ साउन । युक्रेनमा रुसको युद्धका कारण उत्पन्न ऊर्जा मूल्य सङ्कटको सामना गर्न यूरोपेली संघ ईयूले ग्यासको खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना लागू भएको छ ।
दुई साताअघि ईयूले सहमति गरेको यो योजनालाई युरोपेली सङ्घको आधिकारिक प्रशासनिक पत्रमा प्रकाशित गरिएको छ । यूक्रेनविरुद्ध रूसी सैन्य आक्रमणले ल्याएको ग्यास आपूर्तिको सुरक्षा खतरालाई ध्यानमा राख्दै यो नियम लागू गरिएको हो ।
युरोपेली घरपरिवार र व्यवसायहरू ऊर्जाका लागि रूसी ग्यासको भर पर्नुपर्ने र यसका लागि इन्धन भण्डारण नै निर्विकल्प उपाय भएको इयूले जनाएको छ । केही ईयू देशहरूले भने यस नियमलाई कडाइका साथ पालना असम्भव भएको भन्दै नियम कार्यान्वयन गर्न मानिरहेका थिएनन् ।