Logo

यू-१९ महिला विश्वकप छनोट: नेपालले मलेसियालाई २५ रनले हरायो



काठमाडौँ, २६ जेठ ।अञ्जली विश्वकर्माको ३३ रनप्रेरित नेपाली युवा महिला टोलीले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा मलेसियालाई २५ रनले हराएको छ ।

मलेसियामै जारी एसिया छनोटमा नेपालले आज बांगीस्थित यूकेएम–वाईएसडी क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८६ रन बनायो । ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो ।

जितसँगै छनोटमा नेपालको सुखद अन्त्य भएको छ । तेस्रो स्थान हासिल गरेको छ । नेपालले पाँचमध्ये तीन खेल जित्यो । दुई खेल हार्‍यो । नेपालले पाँच खेलमा ६ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । दोस्रो खेलमा आठ रनमा अलआउट भएपछि नेपाल यूएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले हारेको थियो । मलेसिया पाँच खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ ।

आजै कतारले भुटानलाई ७ विकेटले हरायो । भुटानले दिएको ११५ रनको लक्ष्य कतारले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । यूएई र थाइल्यान्डले खेल्न बाँकी नै छ ।

आज नेपालविरुद्ध मलेसियाकी एलसा हन्टरले सबैभन्दा धेरै २८ रन जोडिन् । अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी कप्तान कृतिका मरासिनीले दुई र मनीषाकुमारी उपाध्यायले एक विकेट लिइन् ।

त्यसअघि, नेपालका लागि अन्जलीले ३३ रन बनाइन् । अञ्जलीले ५४ बलमा दुई चौका प्रहार गरेकी थिइन् । अश्मा पुलामीमगरले ३८ बलमा एक चौकासहित २६ रन जोडिन् । सृष्टि जैशी, सानु राजवंशी र अनु कठायतले समान तीन रन बनाए । कप्तान कृतिका एक रन बनाएर पवेलियन फर्किएकी थिइन् ।

मलेसियाकी नुर सामेदले दुई विकेट लिइन् । एलसा हन्टरले एक विकेट लिइन् ।

 

प्रतिक्रिया दिनुहोस्