काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरूको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।
शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरूको समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका छन् ।
उनले अब योजना र भिजन भएका युवाहरू राजनीतिमा आउनुपर्ने बताए । चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा,शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरूको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए ।
युवाले खोजेको रोजगारी र नेपाल बनाउनको लागि प्रत्यक्ष निर्वाचनमा उठेको उल्लेख गरे। चौधरीले सबै चार्टर्ड एकाउण्टेन्टहरूलाई भेटेर भोट माग्ने आकांक्षा रहेपनि सम्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गरेका थिए ।
चौधरीले आफूले चार्टड एकाउण्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए । उनले आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको बताए। चौधरीले आफूले शक्ति केन्द्रमा शक्तिको भरपूर प्रयोग गरेको जानकारी दिए ।







