Logo

यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउने प्रक्रिया अघि बढिसक्याे: रेग्मी



काठमाडौँ, ११ जेष्ठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएकी छन् ।

समृद्धि फाउन्डेशन नेपालले बुधवार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले म्याद खारेजीका लागि कानुन मन्त्रालयमा पत्राचार गरिसकेको र थप प्रक्रिया अघि बढिसकेको बताइन् । मन्त्री रेग्मीले संशोधित कानुनले यौनजन्य अपराधीलाई कानुनी दायरामा ल्याउन सहयोग पुग्ने र पीडितले तत्काल न्याय पाउने विश्वास व्यक्त गरेकी छन् ।

ध्यानाकर्षण पत्रमा महिलामाथि हुने यौनजन्य हिंसाको उजुरीका लागि तत्काल हदम्याद हटाउनुपर्ने, उजुरीपछि पीडितले तत्काल न्याय पाउनुपर्ने, कानुनलाई थप बलियो बनाउनका लागि तत्काल संशोधन गरी कार्यान्वयनको चरणमा जानुपर्नेजस्ता विषय उल्लेख छन् ।

अहिले यौनजन्य हिंसा र अपराधका घटना भएको एक वर्षपछि उजुरी दर्ता नहुने कानुनी व्यवस्था रहेको छ । यो व्यवस्थाले पीडितहरू झनै पीडित बनेको भन्दै हदम्याद हटाउन चौतर्फी माग भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्