Logo

रतुवा खोलाको बाढीले १३ परिवार विस्थापित



झापा, ६ असार । लगातार बर्षाका कारण रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन् ।

गएराति ९:५५ बजेको समयमा अविरल बर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं.७ रेडक्रस भवन पछाडी खोला किनार नजिक रहेको वस्तीमा कटान गरेको हो ।

कटानमा परी दमक-७ बस्ने खड्ग लिम्बू, विष्णु लिम्बू, सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य, बिमल किस्कू, राजेश किस्कू, मनोज मास्के, भारती तामाङ, लाक्पा शेर्पा, डिकबहादुर गुरुङ र दिपक गुरुङको परिवार विस्थापित भएका हुन् ।

उनीहरुको घरमा क्षति पुगेको र नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

सोही खोलाले आज बिहान गौरादह-६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा परेका छन् । डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिगएको र बस्तीमा २ फिट जति पानी पसेको तर क्षति नभएको डिएसपी पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस्