काठमाडौँ, ३० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले चार वर्ष अगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजिएको दाबी गरेका छन् ।
बुधबार चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता भएको थियो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ । तर लामिछानेले आज सामाजिक सञ्जाल फेसबुकमार्फत उजुरी पर्नु ठूलो विषय नरहेको र पत्र प्राप्त गरेपछि यसको जवाफ दिने बताएका छन् ।
उनले भनेका छन्, ‘चार वर्ष अगाडि नै सुल्झिएको विषय उठाएर चुनावको मुखमा फण्डा गरिएको छ तर विचलित छैन ।’ लामिछानेले सन् २०१८ मा नै अमेरिकाको पासपोर्ट छाडेर सबै प्रकृया मिलाएको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा उनले सोधका छन्, ‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौंडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भइ सेटल भसकेपछि फेरि कति पटक स्पस्टीकरण दिनु पर्ने हो?’
उजुरीमा लामिछानेको नेपाली नागरिकता नै कायम नरहेको दाबी गरिएको छ । साथै खारेज भइसकेको पुरानो नागरिकता पेस गरेर मनोनयन दर्ता गराएको उजुरी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







