भैरहवा, २९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आज पनि बयान हुने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बिहान १० बजेदेखि आजपनि बयान लिइने भएको छ ।
पोखराबाट मंगलबार भैरहवा ल्याइएका लामिछानेलाई दुई दिन गरि १३ घण्टा भन्दा बढी बयान लिइएको छ । मंगलबार करिब ५ घण्टा बयान लिइएको थियो भने बुधबार करिब ८ घण्टा बयान लिइएको थियो ।
जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरुको टोलीले बयान लिइरहेको छ ।
पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।