काठमाडौं, १ श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको समर्थनमा हालसम्म झन्डै २५ लाख हस्ताक्षर संकलन गरेको जनाएको छ ।
बिहीबार पार्टी कार्यालय बनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाले लामिछानेविरुद्ध राज्यले प्रतिशोध साँधेको दाबी गर्दै अभियानमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरिसकेको जानकारी गराएको हो ।
पार्टी नेता दीपक बोहराका अनुसार असार ७ गतेदेखि सुरु गरिएको यो अभियानलाई अब साउन ५ गतेदेखि गाउँस्तरसम्म पु¥याउने तयारी छ । अभियान अन्तरगत घरदैलो, उपचुनाव क्षेत्र रुपन्देही–३ का सबै वडामा बुथ, सीमा नाका, विमानस्थल र बसपार्कहरूमा ऐक्यबद्धता डेस्क सञ्चालन गरिनेछ ।
संगठित सहकारी ठगी प्रकरणमा दोषी ठहर भई लामिछाने हाल भैरहवास्थित कारागारमा सजाय भोगिरहेका छन् । रास्वपाले उनलाई राज्यद्वारा गरिएको राजनीतिक प्रतिशोधको सिकार भएको भन्दै देशविदेशमा हस्ताक्षर संकलन अभियान सञ्चालन गर्दै आएको छ ।
बागमतीमा सबैभन्दा धेरै ६ लाख ३९ हजार ८६ जनाको हस्ताक्षर संकलन भएको छ । गण्डकीमा ४ लाख ३९ हजार, लुम्बिनीमा २ लाख ३६ हजार, कोशीमा १ लाख ६६ हजार, सुदूरपश्चिममा ९४ हजार, कर्णालीमा ४३ हजार, मधेशमा २० हजार, र केन्द्रीय कार्यालयमा ३३ हजारभन्दा बढीले हस्ताक्षर गरेका छन् । भर्चुअल माध्यमबाट ७ लाख ९० हजार बढी हस्ताक्षर प्राप्त भएको छ ।
अभियानका लागि ४६ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको र ५९ लाखभन्दा बढी खर्च भइसकेको पार्टीले जनाएको छ ।