काठमाडौं, २७ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पोखराबाट बुटवल लगिँदैछ ।
बुटवलको सुप्रिम सहकारी ठगीको छानबिनका लागि उनलाई आज बुटवल लैजान लागिएको हो ।
रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार लामिछानेलाई अनुसन्धानका लागि पोखराबाट बुद्ध एयरको विमानबाट आज बिहान बुटवल ल्याउन लागिएको हो ।
विमानस्थलबाट लामिछानेलाई सिधै जिल्ला प्रहरी कार्यालयमा लगिनेछ । त्यसपछि जिल्ला सरकारी न्यायाधिवक्ताको कार्यालयमा लगिने बताइएको छ ।
बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न रूपन्देही जिल्ला अदालतले कात्तिक ८ गते नै लामिछाने, जिबी राईसहित १२ जनालाई पक्राउ गर्न अनुमति दिएको थियो ।
संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।