कास्की, ८ कार्तिक । कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने विरुद्ध सात दिन म्याद थप भएको जानकारी दिनुभयो । कात्तिक २ गते पक्राउ पर्नुभएका लामिछानेलाई यसअघि गएको आइतबार अदालतले छ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएकोमा म्याद बुधबार सकिएको थियो ।
सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रुपियाँ रकम अवैधानिक रुपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । सूर्यदर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवदेनले देखाएका छन् ।
सहकारीबारे संसदीय समितिको सिफारिसबमोजिम छानबिन गर्न लामिछाने र जोशीलाई पक्राउ गरिएको हो । लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र सहकारीपीडित दुवैले प्रदर्शन गरिरहेकाले अहिले पोखराको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।