काठमाडौँ, २८ मंसिर । सिन्धुलीका युवराज पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
पौडेलले लामिछानेलाई नागरिकता विवादको विषयमा सांसद पदको शपथ नगराउन माग गर्दै रिट दर्ता गराएका हुन् । पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था विपरीत उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै लामिछानेविरुद्ध रिट दर्ता भएको हो । उनले नेपाली नागरिकता त्याग नगरी अमेरिकी नागरिकता लिएको र अमेरिकी नागरिकता र पासपोर्ट लिएकै समयमा नेपाली पासपोर्टसमेत लिएको भन्दै उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग र गृह मन्त्रालयमा पनि उजुरी परेको थियो ।
गृह मन्त्रालयमा परेको उजुरीको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत् जिल्ला प्रहरी परिसर काठमाडौँले छानबिन गरिरहेको छ । लामिछानेले अमेरिकी नागरिकता लिएको मिति, अमेरिकी नागरिकता त्याग गरेको मिति, अमेरिकी नागरिकता लिएकै समयमा नेपाली नागरिकता वा पासपोर्ट लिएको वा नलिएको र अमेरिकी नागरिकता त्याग गरेको भए विधिवतरुपमा नेपाली नागरिकता पुनः प्राप्ति गरेको वा नगरेको विषयमा छानबिन गरिरहेको छ ।







