काठमाडौं, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।
रास्वपाका नेता कार्यकर्ताले विरोध सुरु गरेका हुन् । उनीहरुले ‘राजनीतिक प्रतिशोध बन्द गर, भ्रष्टहरूलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे’लगायतका प्लेकार्ड बोकेका छन् ।
यसैगरी, रास्वपाले आजै पोखराको चिप्लेढुंगास्थित मानव अधिकार चोकमा पनि प्रदर्शन गरेको छ ।
सहकारी ठगी प्रकरणमा हिजो शुक्रबार लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएसँगै सीआईबीको टोलीले उनलाई पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाटै पक्राउ गरेर आज बिहान पोखरा पुर्याइ प्रहरीको जिम्मा लगाएको छ ।
प्रहरीका अनुसार आज शनिबार परेकाले लामिछानेलाई भोलि आइतबार कार्यालय खुलेपछि मात्रै म्याद थपका लागि अदालतमा लगिनेछ । लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान चल्ने प्रहरीले जनाएको छ ।