काठमाडौँ, १९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दार्चुलामा भारतको व्यवहारका कारण नेपालीले ज्यान गुमाउने र घाइते हुने भइरहँदा पनि सरकार निरीह भएको भन्दै आलोचना गरेका छन् ।
उनले यो निरीहता कहिलेसम्म भन्ने प्रश्न पनि गरेका छन् । अध्यक्ष लामिछानेले नेपाली राष्ट्रिय राजनीतिमा अब नयाँ पुस्ताको आगमन भइसकेको भन्दै अब नयाँ सिराबाट अगाडि बढ्नुपर्ने बताए ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘दार्चुलामा भेट्ने हो कि काठमाडौँ भेट्न हो कि दिल्लीमा भेट्ने हो तय गरौ तर निरिहताको निरन्तरता हाम्रो पुस्तालाई स्विकार्य छैन ।’
सीमामा नेपालीको ज्यान जाँदा नेपाल सरकारले देख्ने गरी कहिँ कतै काम नगरेको उनले बताए । ‘वर्षौंको यो निरिहताको कारण के होला? आफ्नो सिमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नु भन्दा अर्को महत्वपुर्ण कुरा के हुन्छ राज्यको?’, उनले लेखेका छन् ।







