Logo

रसुवागढी र तातोपानी नाका बन्द हुँदा सामान बाटोमै रोकिए



रसुवा, ४ भदौ । नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका खुल्न नसक्दा सरसामान आयात ठप्प भएको छ ।

दशैँको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान रोकिएको छ । कोरोना जोखिम बढेको भन्दै चीनले बन्द गरेको दुवै नाका तत्काल खुल्ने सम्भावना नदेखिँदा व्यापारी चिन्तित भएका छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनमा कोरोना सङ्क्रमण कायमै रहेकाले रसुवागढी नाका छिटै खुल्ने सम्भावना नदेखिएको बताए । सङ्क्रमण कम भयो भने छिटै खुल्ने, नत्र भन्न नसकिने उनको भनाइ छ । तर यो समस्या धेरै दिन नलम्बिने उनको विश्वास छ ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले पनि तातोपानी नाका खुलाउनेबारे चिनियाँ पक्षबाट जानकारी नआएको बताए । चीनतर्फ कोरोना सङ्क्रमण बढिरहेको र त्यसकै कारणले नाका बन्द गरेकाले तत्काल खुल्ने सम्भावना नदेखिएको उनले बताए ।

तातोपानी र रसुवागढी नाका बन्द भएका कारण दशैँका लागि भनेर अर्डर गरिएका लत्ता कपडा, फलफूल, थानका कपडा र मेसिनरी सामान बाटोमै रोकिएका व्यापारीले बताएका छन् । तत्काल नाका नखुले दशैँ बजार नै प्रभावित हुन सक्ने व्यापारीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्