काठमाडौँ, ६ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले देश सरकारविहीन भएको टिप्पणी गरेका छन् ।
राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन् ।
उनले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनुसरह रहेको जिकिर गरेका थिए ।
उनले अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको भन्दै नयाँ नेताहरु नयाँ दौरा सुरवाल सिलाउन लागेको बताए । उनले अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जाने कुरा चित्रित गरेको बताए ।
उनले देशमा गणतन्त्र आएको १५ वर्ष झगडामा बिताएर अहिले जनता र अन्य कारण देखाएर पन्छिन नमिल्ने बताए । महासचिव चन्दले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताए । उनले नेपालमा राजतन्त्र हुँदासमेत आर्थिक मन्दीको अहिलेको अवस्था भोग्नु नपरेको बताए ।
उनले भने, ‘मंसिरमा चुनाव भएको हो, अहिलेसम्म सरकार बन्न सकेको छैन । मन्त्रालय फालाफाल छन् । कोही के भनेको छ, कोही के भनेको छ, एक हिसावले भन्दा सरकार नै छैन । प्रधानमन्त्रीले १६ वटा मन्त्रालय हेर्ने समय पनि थियो । संकटकै कुरा भन्दा पनि कति बेला के हुन्छ भन्नेजस्तो छ । यो नेपालको परिवेशले अस्थिरतालाई देखाउँछ । १५ वर्ष झगडामा बिताएर जनतालाई दोष दिन मिल्छ, राज्य त कुनै न कुनै हिसावले चल्यो नि त । पञ्चायतको भन्दा पनि तल पुगेको छौँ । नेगेटिभ पार्टबाट हेर्दा पञ्चायतमा राजनीतिमा तानाशाही किसिमले निरंकुश भए पनि आर्थिक क्षेत्रले हेर्दा आजको जस्तो दिनमा आइपुगेको त थिएन ।’