काठमाडौँ, १६ पुस । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजतन्त्र भनेर कराउनेहरूसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समृद्ध बनाउँदै दिगो र स्थायी शान्तिका लागि सबै दलहरूबीच मेलमिलाप हुनु आवश्यक रहेको उनको भनाइ छ ।
राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौँमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा भट्टराईले अहिले जनताले छिटो-छिटो विकास र सुशासन खोजिरहेको बताए । ‘अहिले केही मान्छे राजतन्त्र भनेर कराइरहेका छन् । तर राजतन्त्र राँके भूतमात्रै हो, अहिले त्यसको उज्यालो देखेर मान्छे चिच्याइरहेका छन् । तर त्यसबाट केही हुनेवाला छैन । राजतन्त्रदेखि डराउनुपर्ने कुरा छैन,’ उनले अघि भने, ‘बरू जनताले चाहेजस्तो सुशासन र विकासको बाटोमा सबै दलहरू मिलेर अघि बढौँ ।’
अध्यक्ष भट्टराईले अहिलेको व्यवस्थामा कुनै पनि दलले बहुमत नल्याउने र स्थिर सरकार नहुँदा जनताले सुशासन र विकासको अनुभूति गर्न पाउने अवस्था नबनेको भन्दै सबै दलहरू मिलेर संयुक्त सरकार बनाउन प्रस्ताव गरे । ‘सबैले मान्ने एउटा मान्छेको नेतृत्वमा संयुक्त सरकार बनाऔँ, सबै दलहरू मिलेर पाँचै वर्ष सरकार बनाऔँ । देशलाई विकास र सुशासनको पक्षमा गति दिऔँ,’ भट्टराईको प्रस्ताव थियो ।
नभए संविधानप्रति, व्यवस्थाप्रति र नेताहरूप्रति अहिले नागरिकले देखाइरहेको आक्रोस थप बढेर जाने भन्दै त्यसकालागि दलहरूले अहिलेको संविधानमा भएका संरचनागत त्रुटिहरूलाई समेत सच्याउँदै जानुपर्ने बताए । ‘यो व्यवस्थामा हामीले सोचेजस्तो संमृद्धि र विकास किन पाइरहेका छौँ भनेर हेर्ने हो भने त्यहाँ केही गम्भीर त्रुटिहरू छन्, केही संरचनागत त्रुटिहरू देखिन्छन्,’ उनले भने, ‘हामीले ल्याएको संघीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था किन स्थिर हुन सकिरहेको छैन? यसबारे हामीले गम्भीर भएर समाधानको बाटो खोज्नुपर्ने आवश्यकता देखेको छु ।’







