Logo

राजनीतिक गतिविधिमा संलग्न हुन चाहने मन्त्रीहरूलाई सरकार छोड्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं, २२ पुष । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा सक्रिय हुन चाहने मन्त्रीहरूलाई सरकारबाट बाहिरिन निर्देशन दिएकी छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले मुलुक निर्वाचन प्रक्रियातर्फ अग्रसर भइरहेका बेला मन्त्री पद र सक्रिय राजनीति सँगसँगै अघि बढ्न नसक्ने स्पष्ट पारिन्। वर्तमान परिस्थिति संवेदनशील रहेको उल्लेख गर्दै उनले सरकारको तटस्थता र विश्वसनीयता कायम राख्न मन्त्रीहरूले आफ्ना अभिप्राय स्पष्ट गर्नुपर्ने धारणा राखिन्।

चुनावी प्रतिस्पर्धामा जाने वा दलगत गतिविधिमा सक्रिय हुने इच्छा भए तत्काल जिम्मेवारी हस्तान्तरण गर्नु उपयुक्त हुने प्रधानमन्त्रीको भनाइ थियो।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले, “सरकारले अहिलेसम्म राम्रो काम गरेको छ, तर अब निर्वाचनको चरण सुरु हुँदैछ। यस्तो अवस्थामा मन्त्रीहरू स्वयं राजनीतिक मैदानमा देखिन थाले निष्पक्षतामाथि प्रश्न उठ्छ,” भन्ने सन्देश दिएकी थिइन्।

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारले काम गरिरहेको सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङको राजनीतिक सक्रियताप्रति बैठकमा विशेष चासो व्यक्त गरिएको थियो। घिसिङको संरक्षकत्वमा गठन भएको उज्यालो नेपाल पार्टी र त्यसको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकतापछि उनी विभिन्न राजनीतिक कार्यक्रममा देखिँदै आएका छन्।

सरकार गैरदलीय भनिए पनि मन्त्रीहरू खुला राजनीतिक गतिविधिमा संलग्न हुन थालेपछि आलोचना बढ्दै गएको छ। यसले आगामी निर्वाचनको निष्पक्षतामाथि समेत आशंका पैदा गरिरहेको भन्दै प्रधानमन्त्रीले बैठकमा असन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्