काठमाडौँ, १८ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलको झोला बोकेर विश्वविद्यालय छिर्न नपाइने विषय स्थापित गर्नुपर्ने बताएका छन् ।
सोमबार स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले विश्वविद्यालयलाई शतप्रतिशत राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिए ।
कुनै दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा स्थापित गर्नुपर्ने उनले बताए । विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने उनको भनाइ छ ।
उनले तत्काल संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराए । विद्यालय शिक्षामा आएको संकटलाई सरकारले बुझ्न नसकेको उनले बताए ।







