काठमाडौँ, ८ पुस । कानुन व्यवसायीले ‘सिरियल किलर’ का रूपमा चिनिएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको रिहाइमा ढिलाइ भएको बताएका छन् ।
सर्वोच्च अदालतको फैसलासँगै केन्द्रीय कारगारबाट थुनामुक्त भइ शुक्रवार अध्यागमन विभागको जिम्मा लगाइएका शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको छ ।
यसैबीच शोभराजको पक्षमा वकालत गर्दै आएकी कानुन व्यवसायी निहिता विश्वासले राजनीतिक गुटबन्दीका कारण उनको रिहाइमा पाँच वर्ष ढिलाइ हुन गएको बताइन् ।
उनले अध्यादेश ल्याउने र आफ्ना मान्छेलाई मात्रै कारागारबाट छुटाउन खोज्ने राजनीतिक खिचातानीको मारमा पनि शोभराज पर्न गएको जिकिरसमेत गरिन् । कानुन व्यवसायी विश्वासले मुटुको रोग लागेका शोभराज कारागारभित्रै निधन हुने देखेपछि पनि अदालतले उनलाई रिहा गर्ने निर्णय लिएको तर्कसमेत गरेकी थिइन् ।
उनले भन्नि, ‘मिडियाको कारणले गर्दा अदालतलाई निर्णय गर्न निकै दबाब भइरहेको थियो । यो प्रक्रिया पाँच वर्ष अगाडि नै टुङ्गिनु पर्थ्यो । प्रशासनिक ढिलासुस्ती र सरकार तथा राजनीतिक दलहरूको खिचातानीका कारणले प्रक्रिया लम्बिन गयो । राजनीतिक दलहरूले आ-आफ्नो मान्छेलाई मात्रै निकाल्न खोजेकाले पनि यो प्रक्रियामा ढिलाइ हुन गयो । अध्यादेश ल्याउने र आफ्नो मान्छेमात्रै छुटाउन खोज्दा चार्ल्स शोभराजमात्र नभइ अन्य कैदीबन्दी त्यसका मारमा परेका छन् । यो पालि सर्वोच्च अदालतले राम्रो साहस देखाएको छ ।’
यसैबीच वरिष्ठ अधिवक्ता रामबन्धु शर्माले शोभराजलाई रिहा गर्ने सर्वोच्च अदालतको आदेश सराहनीय रहेको बताए । शोभराजको पक्षमा वकालत गर्दै आएका शर्माले शोभराजको रिहा गर्ने सर्वोच्चको फैसलाले मानव अधिकारको सम्मान गरेको र उनी स्वयंले पनि न्याय पाएको प्रतिक्रिया दिए ।
अध्यागमन विभागले आजै शोभराजलाई फेरि नेपाल फर्कन नपाउने गरी फ्रान्स पठाउने छ । अध्यागमन विभागमा पुगेकी कानुन व्यवसायी विश्वासले आज राति नै शोभराजलाई फ्रान्स पठाउने तयारी गरिएको बताइन् ।







