Logo

राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन हुन्छ: सभापति देउवा



मोरङ, २१ मंसिर । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यक भएकाले दलहरुबीच वार्ता एवं सहमति कायम गर्ने प्रष्ट पार्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)मा ऋण सम्बन्धी सम्झौता नभएको उल्लेख गर्नुभयो ।

वर्तमान गठबन्धन सरकारप्रति जनताको कुनै असन्तुष्टि नभएको सभापति देउवाको भनाइ थियो । मुलुकमा राजनीतिक स्थायित्व कायम हुनुका साथै मुलुक समृद्धितर्फ अगाडि बढेको उहाँको धारणा थियो ।

सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र निर्वाचन वाट नेतृत्व चयन हुने बताउनुभयो । उहाँ शनिबार विराटनगरमा हुने कांग्रेसको प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्