काठमाडौँ, २९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् ।
सोमबारदेखि सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्नेमा जोड दिए । राजनीतिक दलका विचार, अभिव्यक्ति स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको उनले बताए ।
परिवर्तनका निम्ति सारा जीवन बिताएका नेताहरूप्रति कहिलेकाहीँ विषयकेन्द्रित कटाक्ष गरे पनि उनीहरूका योगदानलाई अवमूल्यन गर्ने योजना नरहेको सभापति लामिछानेले बताएका हुन् ।
“राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ । कहिलेकाहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमान जल्दछन् र शंका नै शंका, आशंका नै आशंकामा हामीलाई पनि कैयौँ अनुमानको घेरामा राखिएको छ,” उनले भने, “यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरूप्रति कहिलेकाहीँ कटाक्ष गरेको मात्र यहाँहरूले सुन्नुभएको छ होला, विषयकेन्द्रित कटाक्ष हुन सक्छन् । तर, समग्रमा मुलुकको परिवर्तनमा उहाँहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न साहस न योजना छ । परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय हुँदैन ।”







