Logo

राजनीतिक दल ठिक ढङ्गले नचले धेरै ‘बालेन’ जन्मिने छन्: खनाल



काठमाडौँ, १२ जेष्ठ । नेकपा एमालेका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलहरूलाई सुध्रिन सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सरकारको आउँदो वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘अब राजनीतिक दल ठिक ढङ्गले चल्न नसके धेरै बालेन जन्मिने छन् र राजनीतिक दलको अस्तित्व समाप्त हुँदै जानेछ ।’

नेता नेपालले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन आवश्यक भएको बताए । ‘राष्ट्रिय हितमा सगरमाथा जस्तै अटल भएर उभिन सक्नुपर्छ, यस्तो परराष्ट्र नीति आवश्यक छ’, उनले भने, ‘अब कुटनीतिक कुरा गर्ने होइन, राष्ट्रिय सहमतिबाट हाम्रो भूमि र सीमाको संरक्षण गर्नुपर्छ ।’

नेता खनालले श्रमजीवी वर्ग समेटिने नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै गरिबी निवारणसम्बन्धी नीति हुनुपर्ने बताए । उनले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नुपर्ने र देशमा उद्योगधन्दा सञ्चालनका विषयलाई ध्यान दिनुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस्