काठमाडौँ, ३० असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि आर्थिक विकास र समृद्धिको योजनालाई सँगसँगै अगाडि बढाउनुपर्ने बताएका छन् ।
वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आज आयोजना गरेको निर्वाचन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक परिवर्तनलाई स्थायी बनाउनका लागि जनचाहना बमोजिमको आर्थिक विकास जरुरी रहेको बताए ।
आर्थिक समृद्धिको अभियानलाई अगाडि बढाउन नसकीय राजनीतिक उपलब्धी दिगो हुन नसक्ने उल्लेख गर्दै उनले यस क्षेत्रको जनचाहना पूरा गर्न सक्ने व्यक्तित्वलाई यस क्षेत्रको उम्मेदवार बनाएको स्पष्ट पारेका छन् ।
उनले गठबन्धन दलमा आवद्ध नेता तथा कार्यकर्तालाई कुनै पनि हिनताबोध नराखी एक अर्काको दलको निर्वाचन चिह्नमा मतदान गर्न आग्रह गर्दै केही ऐतिहासिक तथ्य र घटनाक्रमको समेत स्मरण गरेका थिए ।







