Logo

राजनीतिक परिवर्तनसँगै देश समृद्धिको यात्रामा अगाडि बढेको छ: प्रचण्ड



काठमाडौँ, १३ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनसँग मुलुक समृद्धिको यात्रा अगाडि बढीरहेको बताएका छन् ।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद: चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा उनले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरेका हुन् ।

“परिर्वतन पछाडि केही भएन, राजनीतिक दलहरूले केही पनि गरेनन् भन्ने सत्य होइन,” उनले भने, “नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि ऐतिहासिक महत्वका राजनीतिक परिवर्तन मात्रै होइन, त्यो परिवर्तनलाई संवैधानिक ढङ्गले संस्थागत गर्ने प्रक्रियासमेत संविधानसभाबाट भएको छ, यसलाई कम ठान्नु हुँदैन ।”

१० वर्षे जनयुद्धमा हजारौँको त्याग र बलिदानबाट नै मुलुकमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता स्थापित भएको उल्लेख गर्दै उनले प्राप्त उपलब्धिलाई कमजोरी ठान्नु इतिहासप्रति अन्याय हुने बताए ।

संविधानको प्रस्तावनामा नै मुलुक समाजवादउन्मुख दिशामा लैजाने विषय स्पष्टसँग लेखिएको स्मरण गराउँदै पूर्वप्रधानमन्त्री दाहालले नागरिकको जीवनस्तरलाई माथि उठाउन संविधानले धेरै महत्वपूर्ण मौलिक अधिकारका प्रावधान समावेश गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्