तनहुँ, २८ असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन् ।
आज तनहुँको व्यास नगरपालिका-१३ मा मतदातासँगको भेटघाटका क्रममा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरुको रहेको बताएका हुन् ।
गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको नेता पौडेलले उल्लेख गरे । “गाउँमा सुविधा र रोजगारीको अवसर नभएपछि मानिस सहर झरेका छन्, अहिले गाउँमा सबै सुविधा पुगिसकेको छ, अब आम्दानी र रोजगारीको अवसर पनि पुग्छ”, उनले भने ।







