Logo

राजनीतिमा भ्रष्टाचार मौलाउँदा मुलुकले दुःख पाइरहेको छ: महासचिव भुसाल



रुपन्देही, ३० मङ्सिर । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउँदा मुलुकले दु:ख पाइरहेको बताएका छन् । उनले भ्रष्टाचारमा रुमलिएको मुलुक कहिल्यै माथि नजाने बताए ।

नेकपा (एस) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको शनिबार भैरहवामा भएको प्रथम अधिवेशनमा बोल्दै उनले भ्रष्टाचारले रोजगारी सिर्जना हुन नदिने बताएका हुन्  ।

उनले भने, ‘जहाँ भ्रष्टाचार छ, त्यो मुलुकमा रोजगारी सिर्जना हुँदैन, त्यो मुलुकमा स्थिरता, नियम र कानुन केही लागू हुँदैन । उद्योग, व्यवसाय, कृषि र उत्पादन क्षेत्रको विकास हुन दिँदैन । ’ मुलुकले अहिले सुशासन र रोजगारी खोजेको र सुशासन र रोजगारी भएको मुलुक अगाडि बढ्ने उनको भनाइ छ ।

पूर्व कृषिमन्त्रीसमेत रहेका नेता भुसालले सही नेतृत्व र विचार भएको पार्टी आवश्यक रहेको बताए । ‘विचारको हिसाबले हामी ठीक ठाउँमा छौं । अब एउटा कमी छ, नेकपा (एस) लाई ठूलो पार्टी बनाउनुपर्छ,’ उनले भने, आम जनताको बीचमा हामीले देशका लागि के सोचेका छौं, त्यो बताउनुपर्छ । पार्टीको राजनीतिक एजेन्डा दुनियाँसामू ल्याउनेछौं ।’

राजनीतिलाई ठीक ट्र्याकमा ल्याउन सके १५–२० वर्षमा मुलुक कायापलट हुन सक्ने उनको भनाइ छ । महासचिव भुसालले पार्टी ठूलोमात्र भएर नहुने बताए । उनले केपी ओली नेतृत्वका कारण मुलुकले दुःख पाएको आरोप लगाए । उनले भने, ‘ओलीको कारण मुलुकको राजनीतिमा भूकम्प आयो । अहिले पनि पराकम्प आइरहेका छन् । बैंकको ऋण नतिर्नेले तर्साइरहेका छन् । ’

प्रतिक्रिया दिनुहोस्