काठमाडौं, १६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको पक्षमा नसोचेको माहोल बनिरहेको र यसै वर्ष अर्को ठूलो आन्दोलन हुने दाबी गर्नुभएको छ । उहाले दशैं-तिहारपछि राप्रपा अर्को चरणको आन्दोलनमा जाने जनाउ दिनुभयो ।
आज पार्टीका विभागीय प्रमुखहरूसँगको छलफलमा लिङदेनले आन्दोलन र संगठनलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभएको थियो । राजा ल्याउन पनि संगठन चाहिने र राजा ल्याएपछि व्यवस्था टिकाउन पनि संगठन चाहिने उहाको भनाइ थियो । लिङदेनले विभागीय प्रमुखहरूलाई संगठन विस्तारमा केन्द्रित हुन निर्देशन समेत दिनुभयो ।
लिङदेनले भन्नुभयो, ‘हामीले आन्दोलन र संगठनलाई समानान्तर रूपमा लैजानुपर्छ । आन्दोलन प्रभावकारी बनाउनलाई बलियो संगठन नै चाहिन्छ । राजा ल्याइसकेपछि भ्रष्टाचारमुक्त समाज निर्माणका लागि पनि संगठन चाहिन्छ । त्यसैले संगठन निर्माण अपरिहार्य छ ।’
‘राजाले थपक्क प्रधानमन्त्री नियुक्त गर्ने, मन्त्रीहरू बनाउने खालको ताना शाही राजतन्त्र हामीले खोजेको होइन । राजा आएपछि पनि दलहरूले नै देश चलाउने हो । त्यसका लागि चुनाव लड्नै पर्छ । जित्नै पर्छ । त्यसैले संगठन मजबुत बनाउनतिर लागौँ ।’
हालै भएको संयुक्त जनआन्दोलन राप्रपाको सोच र कार्य योजनाअनुसार नभएको उहाको भनाइ थियो ।
‘हामी आन्दोलनमा सहभागी थियौँ, तर आन्दोलनको अगुवाइ हाम्रो थिएन,’ लिङदेनले भन्नुभयो, ‘अबको आन्दोलन हाम्रो नेतृत्वमा हुन्छ । दशैं-तिहारपछि देशमा नसोचेको माहोल आउँदै छ ।’
उहाले आगामी असार २३ गते पूर्वराजाको जन्म दिवसलाई पार्टीको तर्फबाट विशेष बनाउने सन्देश दिनुभएको छ । राजाको जन्मदिन पनि आन्दोलनकै हिस्सा हुने भन्दै उहाले यसमा सहभागी हुन सबै नेता(कार्यकर्तालाई मौखिक सर्कुलरसमेत गर्नुभयो । पार्टीका विभागीय प्रमुखहरूले छिटोभन्दा छिटो आन्दोलनको कार्य योजना ल्याउनुपर्नेमा जोड दिनुभएको थियो ।