काठमाडौँ, २५ मंसिर । काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट ठगी र किर्ते गर्ने आठ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी यो जानकारी गराएको हो ।
‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौँ’ भन्दै उनीहरूले कर असुलीको नाममा ठगी र किर्ते काम गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको परिसरका प्रमुख एवम् वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए ।
उनीहरूले आफूहरू आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी भएको भन्दै बसपार्क क्षेत्रका होटल, रेस्टुरेन्ट, पसलबाट रकम असुल गरेको पाइएको छ ।
पक्राउ पर्नेहरूमा पूर्वी नवलपरासीका मीनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दुधकला विश्वकर्मा, पाँचथरकी सृजना भट्टराई, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, नुवाकोटकी अञ्जना तामाङ, कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।
उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटर प्याड, नगद रसिदसहित पाँच लाख आठ हजार छ सय ४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए ।






