काठमाडौं, १७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको छ ।
शनिबार काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलनलाई मध्यनजर गरेर सरकारले निषेधाज्ञा नै जारी गर्नुले आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
प्रदर्शनलाई रोक्न निषेधित क्षेत्र घोषणा गर्नुले सरकार डराएको भन्दै उहाले यसबाट आफूहरू थप उत्साहित भएको जिकिर गर्नुभयो।
बैठकले आन्दोलनलाई थप सशक्त बनाउन संयुक्त जनआन्दोलन परिचालन समितिको निर्देशन अनुसार परिचालन हुने निर्णय गरेको उहाले बताउनुभयो।
अध्यक्ष लिङ्देनले राज्यले जतिसुकै रोक्न खोजेपनि आफूहरूको आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो । उहाले जेठ १५ गते राजसंस्था पक्षधरहरुको शक्ति र गणतन्त्र पक्षधरहरूको शक्ति जाँच गर्ने मौका प्राप्त भएको जिकिर गर्नुभयो ।