झापा, ४ कात्तिक । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले ढलिसकेको राजतन्त्रलाई बोकेर हिँड्नेहरूका दिन गइसकेको बताएका छन् ।
झापाको बाह्रदशी–५ स्थित ‘बाह्रदशी साहित्य तथा कला प्रतिष्ठान’ले आज आयोजना गरेको प्रदेश स्तरीय अन्तर मावि कविता प्रतियोगिता एवं पुस्तक विमोचन समारोहमा नेता सिटौलाले ढलिसकेको राजतन्त्र पुनः स्थापित गराउँछु भन्दै हिँड्नु र मरिसकेको मानिसलाई पुनः जीवित बनाउँछु भन्नु उस्तै भएको बताए । उनले भने, “अहिले पनि हटिसकेको राजसंस्था पुनःस्थापित गराउने भन्दै हिँड्नेहरू तपाइँ हामी कहाँँ आउन सक्छन्, भम्रमा नपर्नु होला ।”
झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका सिटौलाले राजतन्त्रवादीलाई बोकेर कसरी हिँड्न सक्या होला भन्दै प्रश्न गरे । उनले भने, राजावादी पार्टीको नाम उच्चारण गर्न पनि सरम लाग्नुपर्ने हो ।
संविधानको रक्षा गर्न र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एक भएर लाग्नुपर्ने समय आएको उनले बताए । लामो सङ्घर्षपछि प्राप्त उपलब्धिलाई पटक रपटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जुट्ने समय आएको उनको भनाइ छ ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलाले संविधानको मर्म विपरीत हिँड्ने जो कोही निर्वाचनपछि आफैँ पाखा लाग्ने बताए । “हामी निर्वाचनको सम्मुखमा छौँ”, नेता सिटौलाले भने, “पटकपटक संविधान भङ्ग गर्न खोज्नेहरूलाई जनताले नजिकबाट नियालिरहेका छन् । यस पटकको निर्वाचनमा त्यसको परिणाम उनीहरूले आफैँ भोग्नेछन्, तपाइँ हामीले केही भनिरहनु पर्दैन ।”







