काठमाडौं, १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टी कुनै पनि शक्तिसँग गठबन्धन नगरी एक्लै चुनावी मैदानमा उत्रिएको बताएका छन्। उनले घोषित वा अघोषित रूपमा कुनै पनि दलसँग तालमेल नभएको दाबी गर्दै मतदातालाई राप्रपामाथि भरोसा गर्न आग्रह गरेका हुन्।
झापा निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै लिङ्देनले विगतका निर्वाचनमा एमालेका मतदाताले आफूलाई समर्थन गरेर जिताएको स्मरण गरे। उनले त्यसप्रति कृतज्ञता व्यक्त गर्दै एमाले समर्थकहरूलाई पुनः समर्थन गर्न अपिल गरे।
उनले एमाले मतदातालाई लक्षित गर्दै ‘सूर्य चिन्हमा भोट हाल्नेहरूले हलोमा मतदान गर्दा अपराध गरेजस्तो लाग्छ?’ भन्ने प्रश्न राखे। आफूलाई मतदान गरेर पछुताउनु नपरेको दाबी गर्दै उनले कुनै समय अन्य दललाई मतदान गर्दा पछुतो भएको हुन सक्ने तर आफूलाई भोट दिएर गल्ती नभएको बताए।
अध्यक्ष लिङ्देनले आफ्नो कार्यकालमा भ्रष्टाचार नगरेको र कुनै पक्षपात नगरेको दाबी गरे। संसद र सडक दुवै ठाउँमा राष्ट्रिय एकता, सहमति र समग्र देशहितको पक्षमा उभिएको उल्लेख गर्दै भविष्यमा पनि त्यही बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाए।
देशमा शान्ति, स्थिरता र एकता कायम गर्न राप्रपा बलियो बन्न आवश्यक रहेको उनको भनाइ छ। उनले आफू पुनः संसदमा पुग्नुपर्ने आवश्यकता औंल्याउँदै मतदातालाई विवेकपूर्ण निर्णय गरेर देशको भविष्यका लागि मतदान गर्न आग्रह गरे।







