काठमाडौं, ७ साउन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणको मुद्दा आफूहरूले दुई महिनादेखि उठाउँदा पनि सरकारले नसुनेको बताउनुभएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाले भने, ‘काँग्रेस र एमाले जस्तो दुई ठुला पार्टी मिलेको सरकारले देश लुट्नलाई टेन्डर पारेजस्तो व्यवहार भइरहेको छ। कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो कसले धेरै कमाउने भन्दै प्रतिस्पर्धा चलिरहेको छ।’
उहाले सरकारका एक दर्जन मन्त्रीहरू विवादमा आएका भन्दै तिनीहरूको छानबिन गर्नुपर्ने अवस्था आएको बताउनुभयो। उहाले भ्रष्टाचार कहाँ कहाँ छ भन्दा पनि कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाले भन्नुभयो ‘भिजिट भिसा मात्रै होइन, दर्जनौँ मन्त्रीहरूको विषय आइरहेको छ । बजार भाउ बढाएर कमिसन खाइरहेको कुरा आइरहेका छन् । ती सबैको छानबिनको लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन हुनुपर्छ । त्यस बेलामा सम्म हाम्रो विरोध जारी राख्छौँ ।’
उहाले सदनमा सङ्ख्याको बलले पेलिरहे सडकबाट टुंगो लगाउनेतिर जाने सरकारलाई चेतावनी दिनुभयो ।