झापा, ४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेका छन्। अभियानको उद्घाटन गर्दै उनले देश नै संकटपूर्ण मोडमा पुगेको दाबी गर्दै राष्ट्र जोगाउन आफूलाई समर्थन गर्न मतदातासमक्ष अपिल गरे।
उनले विकासका सामान्य प्रश्नभन्दा पनि देशको अस्तित्वको सवाल अहिले मुख्य विषय बनेको बताए। “बाटो बन्यो कि बनेन भन्नेभन्दा देश रहन्छ कि रहँदैन भन्ने अवस्था आएको छ,” उनले भने, “यस्तो अवस्थामा देशभक्तिको पक्षमा उभिएको शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी हो, जसको नेतृत्व तपाईंहरूको आफ्नै आँगनको छोराले गरेको छ।”
लिङ्देनले विगत आठ वर्षमा भएका कामको मूल्याङ्कन क्षेत्रवासीले आफैं गर्न सक्ने उल्लेख गर्दै देश जोगाउने अभियानमा सबै दलका समर्थकले पनि आफूलाई मत दिन सक्ने बताए। “देश बचाउनका लागि राप्रपाको मात्र होइन, काँग्रेस, एमाले, माओवादी सबैको भोट मलाई चल्छ,” उनले भने।
आफ्नो बाल्यकालको स्मरण गर्दै उनले झापा–३ सँग गहिरो सम्बन्ध रहेको बताए। “बुबाको औंला समातेर यहीँ आएको हुँ। निगुरोको मुन्टा र च्याउ टिपेर छाक टारेका दिन सम्झिन्छु,” उनले भावुक हुँदै भने।
उनले क्षेत्रका सडक निर्माण, विद्यालय स्थापना तथा खानेपानी ट्याङ्की निर्माणमा आफ्नो भूमिका रहेको दाबी गरे। साथै स्थानीय दिदी–बहिनी र दाजुभाइको सुख–दुःखमा सधैं साथ दिएको उल्लेख गर्दै पुनः समर्थन र आशीर्वाद मागे।
राजनीतिक विगतबारे स्पष्ट पार्दै उनले विद्यार्थी जीवनमा भएका सामान्य झडप स्वीकार गरे पनि कुनै पनि व्यक्तिलाई राजनीतिक संरक्षणमा दुःख दिने मनसाय आफूमा नरहेको बताए।
अन्त्यमा उनले पार्टीभन्दा माथि उठेर राष्ट्रहितका लागि मतदान गर्न आग्रह गरेका छन्।







