Logo

राज्य सञ्चालक गलत हुँदा देशले समस्या भोग्नु पर्यो: केसी



बुटवल, २० असार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालक गलत हुँदा देशले समस्या भोग्नु परेको बताएका छन् ।

अहिलेसम्मका राज्य सञ्चालकले देश र जनताको पक्षमा काम गर्न नसकेको बताउँदै आफूलाई ठूलो दलको नेता हुँ भन्नेहरूले राजनीतिलाई व्यवसाय बनाएर ठूलो धनराशी कमाउँदा देश संकटको अवस्थामा पुगेको अध्यक्ष केसीको भनाइ छ ।

राजनीति सेवा नभएर पैसा आर्जन गर्ने व्यवसाय बनाउँदै सत्तामा बस्ने सीमित मान्छेका कारण देशको अवस्था बिग्रँदै गएको केसीले बताए । उद्योग धन्दा, कलकारखाना खोलेर भन्दा ठूला पार्टीमा लागेर सांसद, मन्त्री भएपछि छिटो पैसा कमाइने भएकाले आफूहरूलाइ ठूलो पार्टीको नेता हुँ भन्ने बाटै देश कसले लान्छ भन्ने डर भएको बताए ।

अध्यक्ष केसीले तिनै ठूला दलमा लागेर राजनीतिलाई व्यवसाय बनाउनेहरूबाटै गणतन्त्र र राष्ट्रियता खतरामा रहेको आरोप लगाए । राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको महँगी, भ्रष्टाचारविरुद्वको कोणसभामा बोल्दै राज्यले महँगी, भ्रष्टाचार, कालोबजारी र महिला हिंसा लगायत अपराधजन्य हिंसाको नियन्त्रण गर्न नसकेको बताए ।

उनले उद्योग, कलकारखाना खोल्ने बेला सांसद र मन्त्रीहरूको कारखाना खोलिएको बताए । एउटा देशलाई फुटालेर आठवटा देश बनाउनेहरूका कारण देश पछाडि परेको उल्लेख गर्दै केसीले एउटा देशका सांसद र मन्त्री पाल्न नसकेको देशले प्रदेश धान्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्